one
विज्ञापन

अपांग तथा असहाय केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न एकदिने निःशुल्क आँखा शिविर

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । स्वास्थ्य सेवा सबैको पहुँचमा हुँदैन । अझ शारीरिक रूपमा अशक्त, आर्थिक रूपमा विपन्न र अस्पतालसम्म पुग्न नसक्ने नागरिकका लागि सामान्य आँखा परीक्षणसमेत चुनौती बन्न सक्छ । यस्तै अवस्थालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिका–१९ स्थित अपांग तथा असहाय केन्द्रले मानव सेवाको उदाहरण प्रस्तुत गरेको छ ।

केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न एकदिने निःशुल्क आँखा शिविरबाट १०७ जना अपांगता भएका तथा असहाय नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । शिविरले केवल आँखा परीक्षणमै सीमित नरही, उपचारको आर्थिक भारसमेत आयोजकले आफैं व्यहोर्ने घोषणा गरेपछि कार्यक्रम थप अर्थपूर्ण बनेको छ ।
शिविरमा आधुनिक उपकरणमार्फत वरिष्ठ नेत्ररोग विशेषज्ञसहितको चिकित्सक टोलीले आँखा परीक्षण गरेको थियो । परीक्षणका क्रममा १७ जनामा मोतियाबिन्दुसहित गम्भीर समस्या देखिएपछि उनीहरूको शल्यक्रिया आवश्यक रहेको चिकित्सकहरूले सिफारिस गरेका छन् । ती सबै बिरामीको शल्यक्रिया, औषधि, चश्मा तथा आवश्यक उपचारको सम्पूर्ण खर्च अपांग तथा असहाय केन्द्रले व्यहोर्ने जनाएको छ ।
त्यसैगरी शिविरमा ७ जनालाई निःशुल्क औषधि, ३ जनालाई दृष्टि सुधारका लागि चश्मा उपलब्ध गराइएको थियो । कार्यक्रमकै अवसरमा एक जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । यसले स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वलाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको देखिन्छ ।
केन्द्रकी अध्यक्ष डम्बरकुमारी मास्केले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न केन्द्रले निरन्तर काम गर्दै आएको बताउनुभयो । अस्पतालसम्म पुग्न नसक्ने नागरिकका लागि विशेषज्ञ चिकित्सकलाई समुदायमै ल्याएर सेवा दिन पाउनु केन्द्रका लागि ठूलो सन्तुष्टिको विषय भएको उहाँको भनाइ थियो ।

केन्द्रका निर्देशक सुनिल खड्काले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई विराटनगर आँखा अस्पतालसम्म लैजाने, उपचारको सम्पूर्ण व्यवस्थापन गर्ने र आवश्यक सबै समन्वय केन्द्रले गर्ने जानकारी दिनुभयो । उहाँले उपचारमा लाग्ने सम्पूर्ण खर्च केन्द्रले नै व्यहोर्ने जानकारी दिनुभयो ।

यस्ता शिविरले विशेषगरी अपांगता भएका, ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर समुदायलाई ठूलो राहत पुगेको छ । नियमित स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नागरिकका लागि यस्तो अभियान केवल उपचार मात्र होइन, आत्मविश्वास र आशाको नयाँ किरण पनि बनेको छ । यसमा उपचारमा संलग्न चिकित्सकहरुले समेत भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

धरान–१९ को अपांग तथा असहाय केन्द्रले विगतदेखि नै सामाजिक सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । निःशुल्क स्वास्थ्य शिविर, राहत वितरण, शिक्षा सहयोग र समुदायमा आधारित सेवामूलक अभियानमार्फत केन्द्रले मानवीय सेवाको निरन्तरता कायम राख्दै आएको छ । समाजका सबैभन्दा कमजोर वर्गसम्म उपचारको पहुँच विस्तार गर्ने यस्ता अभियानले मानवता, सामाजिक उत्तरदायित्व र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन