one
विज्ञापन

बिपी प्रतिष्ठान अस्पताल प्रमुखमा ५,शिक्षाध्यक्षमा ४,रजिस्ट्रारमा ५ जना बिच प्रतिस्पर्धा .........

Article Image

धरान ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका तीन महत्वपूर्ण पद–शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकका लागि पदाधिकारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लागू गरेको खुला प्रतिस्पर्धा र योग्यतामा आधारित छनोट प्रणालीअनुसार पहिलो चरणमा परेका ३६ जना आवेदकमध्ये १४ जनालाई सर्टलिस्ट गर्दै प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको हो ।
प्रतिष्ठानको पदाधिकारी छनोट तथा सिफारिस समितिले सार्वजनिक गरेको सूचनाअनुसार शिक्षाध्यक्ष पदमा आवेदन दिएका चारै जना उम्मेदवार सर्टलिस्ट भएका छन् । रजिस्ट्रार पदमा आवेदन दिएका १८ जनामध्ये पाँच जना र अस्पताल निर्देशक पदका १४ आवेदकमध्ये पाँच जना अन्तिम प्रतिस्पर्धामा छनोट भएका छन् । यससँगै तीन पदका लागि परेका कुल ३६ आवेदनबाट १४ जनाले अन्तिम चरणमा स्थान बनाउन सफल भएका छन् ।
सरकारले सार्वजनिक स्वास्थ्य संस्थाहरूमा लामो समयदेखि आलोचना हुँदै आएको राजनीतिक भागबन्डा र अपारदर्शी नियुक्ति प्रक्रियालाई प्रतिस्थापन गर्दै खुला प्रतिस्पर्धालाई संस्थागत गर्ने उद्देश्यका साथ पदाधिकारी छनोट प्रक्रिया अघि बढाएको हो । सोही नीतिअनुसार गत असारमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित देशका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त गरिसकिएको छ । बीपी प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी डा. स्मृति कार्कीले सम्हालिरहनुभएको छ भने अब प्रतिष्ठानको प्रशासनिक र प्राज्ञिक नेतृत्व पूरा गर्न बाँकी रहेका तीन पदमा नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
सर्टलिस्ट अनुसार शिक्षाध्यक्ष पदमा प्रा. डा. काजिराम अधिकारी, प्रा. डा. कृष्ण पोखरेल, प्रा. डा. रविन मास्के र प्रा. डा. शिवेन्द्र झा प्रतिस्पर्धामा हुनुहुन्छ । रजिस्ट्रार पदका लागि डा. अरुणकुमार सिंह, प्रा. डा. अशोककुमार झा, धरणीधर बराल, प्रा. डा. शमशेर श्रेष्ठ र सागरकुमार ताम्राकार छनोटमा पर्नुभएको छ । अस्पताल निर्देशक पदमा प्रा. डा. अशोककुमार यादव, डा. इन्द्रकुमार लिम्बु, डा. मधुर बस्नेत, डा. सेराज अहमद खान र डा. विम्मी सिंह अन्तिम प्रतिस्पर्धामा पर्नुभएको छ ।
छनोट समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता भोलि भदौ १० गते बुधबार उपकुलपति कार्यालय, धरानमा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
पूर्वी नेपालकै प्रमुख शिक्षण तथा रिफरल अस्पतालका रूपमा रहेको बीपी प्रतिष्ठान विगत केही वर्षदेखि प्रशासनिक अस्थिरता, नेतृत्व विवाद र सेवा व्यवस्थापनसम्बन्धी चुनौतीबाट गुज्रिँदै आएको छ । नयाँ नेतृत्व छनोट प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक ढंगबाट सम्पन्न भए प्रतिष्ठानको प्रशासनिक सुधार, स्वास्थ्य सेवा व्यवस्थापन, चिकित्सा शिक्षा तथा अनुसन्धानको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । यही कारण पनि यसपटकको पदाधिकारी छनोट प्रक्रियालाई स्वास्थ्य क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन